राष्ट्रियता

-नेड 

राष्ट्रियता
खै तिमीले कति जान्न सक्यौ
खै मैले कति जान्न सकेँ
देश
खै तिमीले कति मान्न सक्यौ
खै मैले कति मान्न सकेँ
जब मृतआत्माहरुको कथा मात्र
धरोहरको आधार बन्न पुग्छ
जब भए भरको विवेक चैँ
बेमतलब गर्वको आहार बन्न पुग्छ
म भित्रको नेपाल
निस्सासिन थाल्छ
र हरेक मुखुण्डोधारीलाई
देख्दछ देशद्रोही

कतिवटा नेपाल
खाडीमा बालु खाँदैछ
कतिवटा नेपाल
कलमको साटो हँसिया-कोदालि समाइ
मेला जाँदैछ
कतिवटा नेपाल
कलिलैमा अस्मिता गुमाइ
अँध्यारोमा बसेको छ
कतिवटा नेपाल
दिनको एक पटक पनि
हातमुख जोड्न नपाएर
आफ्नै नजरबाट खसेको छ
के लेखाजोखा छ त्यस्को??
के परिमाण छ?
के म आफू नै नेपाल
र नेपाल नै म हुँ भन्न पाइने
बनेको कुनै संविधान छ???
अँह!
तिमीले खोक्रोपन लाई
राष्ट्रियता सँग जोडेका छौ
र विभिन्नताको मसिले
नक्सामाथि मान्छे कोरेका छौ

बागमतीको सिक्का खोज्ने बगरहरुमा
सानाठूला नगरहरुमा
चुपचाप सहिएका चोटहरुमा
छाउपडीका गोठहरुमा
श्रीमान् मुग्लान पसेर
घर छेउ भट्टि थापेकी भाउजुको
सल्किरहने चुरोटहरुमा
बदर भएका भोटहरुमा
आधी छाना उडेका घरहरुमा
थन्किएर कुहिएका
आफ्नै कति रहरहरुमा
जङ्गल लगिएर कहिल्यै नफर्काइएका
छोराकालागि रुझेका आँखाहरुमा
म र सखिहरु दौड्ने
भिर र पाखाहरुमा
बलिया अनि लाचारहरुमा
घण्टाघरको चित्कारहरुमा
हातले फुटाएका गिट्टी
र गिट्टीले फुटाएका हातहरुमा
अँध्यारो अतित
र अन्जान भविष्य डाम्ने
मध्यरातको मातहरुमा
दाइजो नपुगेर खाली रहेको
मेरी दिदीको सिउँदोमा
सास चल्ने लाशहरु
र सास नचल्ने जिउँदोमा
हरेक बिहान एक नेपाल उमंगसाथ उदाएको देख्छु
तर त्यै साँझ
लड्खराउँदै मदिराको काखमा निदाएको भेट्छु

म साँच्चै राष्ट्रियता जान्दिन
म साँच्चै देशभक्ति जान्दिन
थाहा छ त फगत
नेपाल मभित्र
र म आदर्श नेपालीपनमा हुनुपर्छ
राष्ट्रियता विज्ञापनमा हैन
हरेक नेपालीको मनमा हुनुपर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *