हे इश्वर

-अाभास

हे इश्वर सुन्यौ के तिमीले ?

कोही रोए जस्तो

कोही कराए जस्तो !

एउटा कहाली लाग्दो रातमा

कोही डराए जस्तो ?


मलाइ जामैजाम सडकको बीचमा

कराइरहेको एम्बुलेन्स

त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको

बिरामीको चित्कार जस्तै लाग्छ !

हे इश्वर, के सुन्यौ तिमीले त्यो ?


आफु एक र आफुमा एक बोकेर

नेपाल यातायातभित्र डन्डी समातेर उभिएकी

नारीको पाउले आफु मात्र उभिनु छैन

बोक्नु छ एक बच्चा र दुइ परिवार !

देखेको छौ इश्वर उनको पाउ लरबराएका ?


के दुर सुदुरका जिल्लाहरु

आफ्नै हैनन् र ?

आमाले कहिले छुट्याउदि होलिन् र

जेठो र कान्छो ?

ठुली र सानी ?

तर फरक, किन यती धेरै ?

सिटामोल र मेट्रोन खान नपाएर

दिवंगत भएकाहरुले सुनाएनन् कि कसो ?

मेरो देशको स्थिति तिमीलाई ?


मेरो देशमा यथास्थितिबादीहरु लड्दै छन् रे

परिवर्तनका लागि

कुनै दिन पश्चिमबाट घाम उदाउनेछे

बिरालोले घाँस चपाउने छ !

अनि पत्ता लाग्नेछ सायद

निर्मलाहरुका हत्यारा

मानवताका बलात्कारीहरु !


के सुनेनौ यी सब तिमीले ?

के देखेनौ यी सब तिमीले ?

तिमीले धेरै पर रहेर पनि सुन्यौ सायद

तिमीले धेरै पर रहेर पनि देख्यौ सायद

यही नजिकैका हजारौ ‘इश्वरहरु’ले सुन्न सकेनन्

यही नजिकैका हजारौ ‘इश्वरहरु’ले हेर्न सकेनन्

चाहेनन् कि सायद !

-अाभास

Leave a Reply

Your email address will not be published. Required fields are marked *