आमा

-प्रतिष्ठा बुद्धाचार्य

आमा,
तिमीले सुनाउने गरेका परीहरूको कथामा त कहिल्यै यस्तो भएन। ती कथाका राक्षस भनाउदा पात्रहरू पनि यहाँका मानवहरूभन्दा कति असल, कति सभ्य हगि ? गल्ती सायद मेरै थियो आमा, मैले त्यो काल्पनिक कहानी र वास्तविकताबिचको अन्तर समयमा बुझ्नै सकिनँ । नत्र आज म पनि सायद तिम्रै हातबाट खाना खाइरहेकी हुन्थेँ होला है, भाइले जसरी नै ।

तर आमा, तिमीले मलाई कहिल्यै भन्दै भनेनौ – आखिर किन बुबालाई मेरो जन्मदेखि यति आपत्ती थियो भनेर । यसैकारण हो है आमा कि एउटी नारी मरेपछि स्वर्ग पुग्छिन् अनि जन्मेपछि नर्क ? म त सधैँ यही सोच्थेँ कि बुबाले मलाई कहिल्यै माया गर्नुभएन । तर आज आएर बुझ्दैछु, उहाँको माया ।

कति ठुलो भूल भयो आमा मबाट । मैले पनि अाँखाभरि सपना सजाउन थालेकी थिएँ । धेरै पढेर ठुलो मान्छे बनेर तिमीलाई एउटा सुख-सम्पन्न जिन्दगी दिन चाहान्थेँ । यो दानवबस्तिलाई मानव समाज ठानेर कति धेरै विकास-निर्माण थाल्ने स्वप्न देखेकी थिएँ । हातमा खुकुरी लिएर हिड्नुपर्ने यो जङ्गलीहरुको राज्यमा काँधमा झोला अनि आँखाभरि स्वप्न बोकी हिड्नु नै सायद मेरो गल्ती थियो आमा । घाँटि रेटेर हत्या गर्नुपर्ने ती दुष्टहरूमाथि बिश्वास गरेर मैले तिम्री छोरी अनि उसको अस्मिताको पनि हत्या गरिदिएँ । ती मानवताको जलप लगाएका नक्कली मन्छेहरू चिन्न नसक्नु मेरो भूल थियो । त्यसैले मेरा हत्यारा निर्दोष छन् आमा, दोष मेरै थियो ।

त्यो दुष्टले छोएको यो मेरो शरीर अनि शरीर सङ्गसङ्गै नाङ्गिएका मेरा सपनाहरू जलेर राग हुदैछन् । अनि त्यो आगो सङ्गसङ्गै मेरा शरीरका घाउहरू हेर्दा-हेर्दै बिलाउनेछन् आमा । यता मेरो चिता अनि उता उसको अपराध सारा बाग्मतीले निल्नेछिन् अनि छिट्टै मेरो व्यथा एकादेशको कथा बनेर कुनै कोठामा थन्किनेछ, मलाई थाहा छ । समयले सारा घाउ भरिदिन्छ भन्छन् । मैले तिम्रो छातीमा छाडिगएका घाउहरू पनि समयले नै भरिदिनेछ, विश्वास गर ।

तर आमा, जाँदाजाँदै म एउटा बिन्ती बिसाउछु है । मेरा बहिनीहरूलाई ती परीहरूको कथा नसुनाउनू ल । उनीहरूलाई भनिदिनू – यहाँ मानवको भेषमा कस्ता-कस्ता दानवहरू बस्छन् भनेर, बताउनू – हरेक मानवशरीरभित्र मुटु हुँदैन भनेर । उनीहरूलाई सिकाउनू – यहाँ आत्मरक्षाका निम्ति भाला चलाउन जान्नैपर्छ भनेर, सम्झाउनू – हरेकले तिमीलेजस्तै हाम्रो आवाज सुनिदिदैन भनेर । होला, वास्तविकता देखेपछी उनीहरू रातभर निदाउन सक्दैनन् होला । तर कमसेकम त्यहाँ अर्को मजस्तो मुर्खा जन्मनेछैन । कमसेकम त्यहाँ फेरि अरु कसैको विश्वास टुट्नेछैन । कमसेकम त्यहाँ फेरि अरु कसैको स्वप्न जल्नेछैन । कमसेकम त्यहाँ फेरि अरु कसैको अस्मिता लुटिनेछैन । मेरो गल्ती अरू कसैलाई पनि दोहोर्‍याउन नदिनू है आमा ।

-प्रतिष्ठा बुद्धाचार्य

One thought on “आमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *