डर

– प्रतिष्ठा बुद्धाचार्य

तिम्रो सपना अधुरै होला भनेर डर लाग्छ

तिम्रा ती रहर आँसुले धोला भनेर डर लाग्छ

तिमी त गयौ बिर्सेर कसम – सक्दिनँ म भुल्न

मेरो त्यो वचन अधुरै होला भनेर डर लाग्छ ।


साथ हुन्छु भन्थ्यौ सधैँभरीलाई सम्झन्छु अझै नि

शीरमा छाम्दा – भेट्दिनँ हात अनि त डर लाग्छ ।


लाइदिन्थ्यौ मलम स-सानो घाउमा चुम्दिन्थ्यौ निधार

जल्दैछ छाती – आउँदैनौ तिमी अनि त डर लाग्छ ।


नखाए खाना कराउँथ्यौ कति सुनेरै आत्तिन्थेँ

भोकै छु आज – मौन छौ तिमी अनि त डर लाग्छ ।


जीतमा ताली पिट्थ्यौ है अनि हारमा सम्हाल्थ्यौ

गल्ती भो आज – सुन्दिनँ गाली अनि त डर लाग्छ ।


बोलाए मैले जहाँ भए पनि आउँथ्यौ है दौडेर

अलपत्र छु म – देख्दिनँ तिमी अनि त डर लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *