शुभकामना

युवकोचित ऊर्जालाई शुभकामना !

साहित्यले सोझै क्रान्ति नगर्ला तर समाज रुपान्तरणकालागि एउटा सबल औजार हो साहित्य । यसको असर सोझै सतहमा नदेखिएला तर समाजका भित्री अवयवहरुमा रगतझैँ यो प्रवाहित भैरहेको हुन्छ । समाज विकाश र साहित्य लेखनको गति धेरै अर्थमा समानान्तर हुन्छ । समाजका स्थुल परिवर्तन र त्यसको मानसिकताको भित्री स्वरुप साहित्यमा कुनै न कुनै रुपमा अभिव्यक्त भैरहेकै हुन्छ । त्यसैले साहित्य लेखन एउटा जिम्मेवार अभ्यास हो । साहित्यलाई समाजका भित्री तहसम्म छरिएर रहेका पाठकसम्म पुर्याउने कर्म त्यसभन्दा पनि जिम्मेवारपूर्ण कर्म हो । साहित्यिक पत्रपत्रिकाहरु त्यसैले पनि हाम्रा धरोहर हुन् । तिनका एकएक पानाहरु शताब्दीयौँसम्म जीवन्त रहने र उपयोगी दस्तावेजहरु हुन् ।
यसै क्रममा साहित्यप्रति असिम अनुराग राख्ने उत्साही र ऊर्जाशील युवाहरुको एक समूहले नेपाली साहित्यको समुन्नयका लागि ‘नेपाली राइटर्स ’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्न लागेको उल्लासमय कुरालाई मैले माथि उल्लेख गरेकै सन्दर्भमा हेर्न मन लागेको छ । इन्टरनेटमा ई–पत्रिकाको रुपमा उपलब्ध हुने यो पत्रिकाको प्रकाशनलाई मैले ऊर्जाशील युवाहरुले पुर्याउन लागेको उत्साहपूर्ण साहित्यिक देनको रुपमा लिएको छु । उहाँहरुको यो युवकोचित प्रयास एउटा यस्तो सत्कार्य हो, जसले नेपाली भाषा, साहित्य र साँस्कृतिक जागरणको क्षेत्रमा केही फरक ढंगले तर सशक्त योगदान पुर्याउने छ ।
उहाँहरुको यो उदाहरणीय सत्कार्यको लागि म धन्यवाद दिन्छु । नेपाली साहित्यको प्रचारप्रसार र बजार बिस्तारमा यसले आशातीत योगदान गर्नेछ भन्ने कुरामा विश्वस्त छु । यसै मेसोमा राइटर्स नेपाल नामक यस ई–म्यागेजिनले निरन्तरता पाइरहोस् भन्ने चाहना पनि अभिव्यक्त गर्न चाहन्छु ।

-नयनराज पाण्डे